मिथिलाञ्चलमा झिझियाको लोक नृत्यको रौनक

२०८१ अशोज २०

जनकपुर । मिथिला क्षेत्रमा मनाइने झिझियाको लोक नृत्यु जारी छ । मिथिलाञ्चलमा मनाइने झिझिया लोक नृत्यहरुमध्ये एक विशिष्ट प्रकृतिको नृत्य हो । दशैँको आगमनसँगै मिथिलाको यो लोक नृत्य गरिन्छ । पूर्णतान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा विशिष्ट महत्व छ ।

घटस्थापनादेखि विजय दशमीसम्म देवी स्तुतिको रुपमा मिथिलाञ्चलमा भिझिया नृत्य गर्ने परापूर्वकाल देखि नै परम्परा रहेको छ ।

बोक्सीबाट आफ्नो सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रही आएको छ ।यसको बनावट र स्वरुपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ ।

बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँ बायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित विशेष अर्थलाई संकेत गर्दछ ।

झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अदभूत वातावरणको निर्माण हुन्छ । झिझिया नृत्यलाई कतिपयले अन्धविश्वासको रुपमा समेत प्रचार गर्दै आईरहेका छन् ।

झिझिया धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा मनाईने गरिन्छ यो एउटा पर्वको रुपमा मनाइन्छ । त्यस्तै भारतीय मिथिला क्षेत्रमा यो लोकनृत्य गर्ने गरिन्छ । झिझिया नृत्यको प्रारम्भ घट नृत्यको परम्पराबाट शुरु भएको मानिन्छ । वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कलान्तरमा गएर मिथिलामा झिझिया नृत्यको स्वरुप धारण गरेको संस्कृतिविदहरुको भनाई छ । छैटौं शताब्दीदेखि ११ औं शताब्दीसम्मको बीचमा तन्त्र शक्ति हावी भएको बेलादेखि झिझियाको प्रारम्भ भएको जनविश्वास छ ।

प्रतिक्रिया दिनुहोस्: