काठमाडौँ । पछिल्लो २४ घण्टामा सबैभन्दा धरै वर्षा झापाको चन्दगढीमा भएको छ । चन्द्रगढी विमानस्थलमा रहेको जल तथा मौसम विभागको मापन केन्द्रका अनुसार ३०२ मिलिमिटर वर्षा भएको छ ।
बिहीबारदेखि देशभर नै निरन्तर वर्षा भइरहेको छ । र कोशीदेखि कर्णाली प्रदेशसम्म धेरै तथा अति धेरै वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइएकी छ्न् । तर कर्णाली प्रदेशमा भने धेरै वर्षा नभएको कँडेलले जानकारी दिइन् ।
कर्णाली प्रदेशबाहेक सबैतिर धेरै वर्षा भइरहेको छ । झापामा सबैभन्दा धेरै वर्षा भएको छ । धेरै ठाउँमा धेरै वर्षा र केही ठाउँमा अति धेरै वर्षा भएको छ । झापाको चन्द्रगढी विमानस्थलको स्टेशनमा ३०२ मिलिमिटर मापन भएको छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु, भारतको मध्यप्रदेशमा बनेको न्यूनचापीय क्षेत्रका कारण नेपालमा धेरै वर्षा भएको मौसमविद्को भनाइ छ ।
देशका ३२ स्थानमा अत्यधिक धेरै वर्षा भइरहेको विभागले जनाएको छ । इलामको कनकाईमा २९८ मिलिमिटर वर्षा भएको छ भने झापाको गौरादहमा २५० मिलिमिटर वर्षा भएको छ । झापाको केचनामा २३४ मिलिमिटर, पाल्पाको जाल्पा भन्ने ठाउँमा २०० मिलिमिटर वर्षा भएको छ ।
झापाको केचना, शनिश्चरे, अनारमनी बिर्ता, गौरादह, बाहुनडाँगी क्षेत्रमा धेरै वर्षा भइरहेको छ । यस्तै विराटनगर एयरपोर्ट, उदयपुरको सुन्दरपुर, मोरङको बाहुनी, इलामको कन्याम चिया बगान, कन्काई मैनाचुलीमा वर्षा भइरहेको छ। यसैगरी पाल्पाको कुमालगाउँ, मकवानपुरको राजैया, पूर्वी नवलपरासीको डण्डा, दुम्कौली, अर्घाखाँचीको खान्छीकोट, पाल्पाको गैडाकोट, पूर्वी नवलपरासीको सेमरी, लुम्बिनी, पाल्पाको बल्ड्याङगढी, जाल्पा, अर्चले, बाराको कलैया, ललितपुरको लेले, सप्तरीको बरमझिया, पर्साको मुडली पर्सामा धेरै वर्षा भइरहेको छ ।
विभागको देशभर २७२ वर्षा मापन केन्द्र रहेको छ । ३२ मापन केन्द्र रहेका स्थानमा धेरै वर्षा भएको छ भने अन्य मापन केन्द्रले सामान्य वर्षा भएको आँकडा दिएको छ । काठमाडौँ आसपास रहेका मापन केन्द्र अनुसार कीर्तिपुरमा १३६ मिलिमिटर वर्षा भएको छ ।
ललितपुरको गोदावरीमा ११३ मिलिमिटर वर्षा भएको छ । ललितपुरको खुमलटारमा १२२ मिलिमिटर, काठमाडौँको पानी पोखरी क्षेत्रमा ८९ मिलिमिटर, बबरमहलमा १०२.८ मिलिमिटर, बुढानीलकण्ठमा ९४ मिलिमिटर, धाप ड्याम क्षेत्रमा ९१.४ मिलिमिटर, भक्तपुरको नगरकोटमा १०१.४ मिलिमिटर वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ।
भोलि (शनिबार)सम्म धेरै वर्षा हुने र त्यसपछि क्रमशः सुधार हुँदै जाने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्: