सर्लाहीमा गोली चल्दा एक महिलाको मृत्यू , एक जना घाइते

२०८१ अशोज १०

मलंगवा । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

आज बिहान करिब २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।

प्रहरीका अनुसार गोली लागेर मृतक महिला चित्रलेखा यादवको ससुरा ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनलाई वाया हातमा गोली लागेको छ । घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

गोली हानेर फरार भएका व्यक्तिको खोजी भइरहेको डिएसपी श्रेष्ठले बताए । गोली हान्ने व्यक्तिको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ ।

मोटरसाइकलमा दुई जना व्यक्ति आएका रहेछन् अनि गोली हानेर मोटरसाइकल चढेर भागे,’ डिएसपी श्रेष्ठले भने, ‘घटनामा संलग्न व्यक्तिको पहिचान भइसके पनि पक्राउ नपरिसकेकाले नाम भने सार्वजनिक गरिएको छैन । तर प्रहरी चौकी हरिपुर्वाले भने चित्रलेखाका श्रीमानले नै श्रीमती र बुवालाई गोली हानेर फरार भएको टिपोट सार्वजनिक गरेको छ ।

घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा २० जनाको टोली आज बिहान घटनास्थल पुगेको थियो । घटनामा सानो हतियारको प्रयोग भएको छ । उक्त हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको छ डिएसपी श्रेष्ठले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्: