वीरगन्ज । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार वीरगन्ज आइपुगेका छन् । वीरगन्जमा करिब ३० घण्टा बस्न लागेका देउवाले औपचारिक तथा अनौपचारिक भेटघाट गर्नेछन् ।
पर्साका कांग्रेसका सभापति जनार्दन सिंह क्षेत्रीका अनुसार सभापति देउवाले पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित आधारभूत अस्पतालको समुद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।त्यसपछि आज साँझ पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्नेछन् ।
बुधबार पार्टी सभापति देउवा महानगरको कार्यक्रम तथा भेटघाट कार्यक्रममा व्यस्त हुनेछन् । उनले वीरगन्ज महानगर वडा नम्बर २४ मा आत्माराम ओझा र दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सभापति देउवाले मधेश प्रदेशका ८ वटै जिल्ला सभापति तथा उच्च तहका नेताकार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रदेश कांग्रेस समितिले जानकारी दिएको छ ।
देउवासँगै वीरगन्जमा कानुन मन्त्री अजय चौरसिया, पूर्व उद्योगमन्त्री रमेश रिजाल, नेता फरमुल्लाह मन्सुरलगायत सहभागिता रहेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पूर्वप्रधानमन्त्री देउवाको सुरक्षालाई मध्यनजर गरेर करिब ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
देउवा सुरक्षाका लागि सादा पोसाक, पैदल गस्ती, सूचना सङ्कलन टोली तथा मोबाइल गस्तीसहितको प्रहरी परिचालन गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले बताए ।



प्रतिक्रिया दिनुहोस्: