जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका ९ थुनुवा फरार मध्ये ४ थुनुवा पक्राउ परेका छन् । गए राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचौकबाट पक्राउ गरेको हो ।
भागेका आठ जनामध्ये थप तीनजनालाई प्रहरीले धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशन स्थित लखौरी भन्ने ठाउँको धानखेतबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका धनुषाका अनुसार पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की रहेका छन् ।
लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र धनुषाको औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया, अभद्र व्यबहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षीय सुमित मेस्तर र नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल अझै फरार छन् ।
उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए ।



प्रतिक्रिया दिनुहोस्: