महासभामा भागलिन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

२०८१ अशोज ४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भागलिन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो ।

टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत छन् ।

विमानस्थलमा प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू र नेकपा एमालेका नेताहरूले बिदाइ गरे । त्यसक्रममा नेपाली सेनाको एक टुकडीले विशेष सम्मान प्रकट गरेको थियो ।

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: