संसदको वर्षे अधिवेशन आज मध्यरातबाट अन्त्य हुँदै

२०८१ भदौ ३१

काठमाडौँ  । संघीय संसदको चालु अधिवेशन सोमबार मध्यरात देखि अन्त्य गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि दुवै संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्राविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले भदौ १५ मै संसद् अधिवेशन अन्त्य गर्न खोजेका थिए तर सहकारीको बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि मात्रै अन्त्य गर्नुपर्ने माग कांग्रेस नेताहरूले गरेपछि ओली केही दिन संसद लम्ब्याउन सहमत भएका थिए ।

सरकारका एक मन्त्रीका अनुसार माओवादीले संसदको अवरोध जारी राखेको, असोज १ र ३ मा सरकारी बिदा परेको र ४ गते आफू संयुक्त राष्ट्रसंघको महासभाका लागि जानुपर्ने कारण देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष सिफारिस पठाउने समय ख्याल गरेर संसद् अधिवेशन अन्त्य गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकमा गराएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । चालु बजेट अधिवेशन वैशाख २८ मा सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: