काठमाडौं । भारत उत्तराखण्डको सोनप्रयाग नजिकै पहिरोमा परी एक नेपालीको मृत्यु भएको छ । भारतीय पत्रिका अमर उजालाका अनुसार सोमाबार साँझ भीषण वर्षासँगै आएको पहिरोमा परी ७० वर्षीया तितलीदेवी मण्डलको मृत्यु भएको हो ।
रुद्रप्रयाग–गौरीकुण्ड सडक खण्डमा पर्ने सोनप्रयाग नजिकै अबेर साँझ पहिरोमा परी ५ जनाको मृत्यु भएको हो । जसमा ४ जना भारतीय नागरिक रहेका छन् । केदारनाथको दर्शन गरेर फर्किने क्रममा उनीहरु पहिरोमा परेका हुन् । पहिरोमा परेका ३ जनाको उद्धार गरिएको छ । जसमा एक जना नेपाली समेत परेका छन् । मृतक पाँचै जनाको शव पहिरोबाट निकालेर पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।
करिब दुई साताअघि उक्त क्षेत्रमा भीषण वर्षा भएको थियो । त्यतिबेला सोनप्रयाग नजिकै १ सय ५० मिटर सडक पहिरोले बगाएको छ । उक्त क्षेत्रमा पैदल आउजाउ बन्द गरिएको छ । अमर उजालाका अनुसार सोमबार पनि भीषण वर्षाको पूर्वानुमानसँगै उक्त क्षेत्रमा आउजाउमा रोक लगाइएको थियो । तर पनि तीर्थालुहरु अटेरी गरेर आउजाउ गर्दा उक्त दुर्घटना भएको हो ।
दुई साताअघि मात्रै केदारनाथ नजिकै फाटा हेलिप्याड भन्ने ठाउँमा पहिरो जाँदा ४ जना नेपाली कामदारको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्: