हिंसाको मण्डन नगर्न, देश विकासमा लाग्न प्रधानमन्त्री ओलीको प्रचण्डलाई आग्रह

२०८१ भदौ २२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई सुझाएका छन् ।

शनिवार काठमाडौँमा आयोजित २१ औं निजामति सेवा दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरेका हुन्।

उनले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको बताए।

उनले भने, ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्यो । केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनुपर्यो शान्ति प्रक्रियामा ? त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो नि। जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन।

जन भइसकेपछि त्यो फेल हुँदैन । अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ । बाटो बदल्नुपर्छ ।

अध्यक्ष ओलीले आफुहरुले पनि झापा आन्दोलनताका लिएका नीतिहरु बदलेर अघि बढेको बताए । उनले भने, ‘मैले पनि झापा आन्दोलनताका जुन नीतिहरु लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्ने । बदलियो । सही भएन त बदल्नुपर्छ । त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ । बदल्नुपर्छ । बदल्नुपर्दथ्यो, बदलियो पनि । हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ । त्यसले फेरि खतरा ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस्: