काठमाडौं । नेपाल सरकार र जर्मनी सरकारकारबीच विकास सहायता सम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ ।
वार्तामा जर्मनी सरकारको तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायताको लागि ५१ मिलियन युरो (झन्डै ७ अर्ब ६१ करोड रुपैयाँ) अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ ।
वार्तामा नेपाली पक्षले सन् २०३० भित्र नेपालको दिगो विकास लक्ष्य हासिल गर्न र अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्ती भए पश्चात नेपालको विकास अभियानलाई निरन्तरता दिन विकास साझेदारको भूमिका महत्त्वपूर्ण हुने भएकोले जर्मनी सरकारको तर्फबाट प्राप्त हुने सहयोगलाई निरन्तरता दिन र थप सुदृढ बनाउन आग्रह गरेको छ ।
जर्मनी सरकारले आगामी दिनमा नेपालको विकास प्रयासमा सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
सहायता रकम नेपालमा गुणस्तरीय स्वास्थ्य क्षेत्र पूर्वाधार एवम् स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउने, हरित एवम् नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन र सुदृढीकरण गर्ने, आर्थिक सामाजिक विकास लगायतको क्षेत्रमा परिचालन गर्ने सहमति भएको हो ।
नेपाली प्रतिनिधिमण्डको तर्फबाट वार्ताको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले गरेका थिए भने जर्मनी सरकारको तर्फबाट आर्थिक सहायता तथा विकाससम्बन्धी संघीय मन्त्रालयको संसदीय राज्य सचिव बार्वेल कोफ्लरले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्: