हरेक निकायलाई जवाफदेही बनाउन मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन

२०८१ भदौ १४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई प्रशासनका हरेक निकायलाई जवाफदेही बनाउन निर्देशन दिएका छन्।

मन्त्रिपरिषद्को निर्णयबाट बिहीबार मुख्यसचिव नियुक्त भएसँगै अर्याललाई शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत बधाइ दिँदै ओलीले कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिएका हुन्।

उनले नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त दुरुस्त हुनुपर्ने भन्दै उनले यसमा कर्मचारी प्रशासनको ठूलो भूमिका हुने जनाएका छन्।

सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो’, उनले सुझाव दिएका छन्, ‘हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ-आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ।’कार्यसम्पादनमा कर्मचारीको सफलताले नागरिकमा सन्तुष्टि आउने, कामहरू अघि बढ्ने र देश सफल हुने तर्क प्रधानमन्त्रीले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्: