जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धनुषाको विदेह नगरपालिकास्थित वैदेही स्कुल टोलको मुसहर बस्ती पुगी बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री सिंहले मुसहर बस्तीका महिला, बालबालिका, युवा तथा वृद्धसँग त्यहाँका समस्याबारे जानकारी लिएका थिए। सो अवसरमा उनी बस्तीका घरघरमा पुगेर बालबच्चाको पढाइ, स्वास्थ्योपचार, सरसफाइ, आयआर्जनलगायतका विषयमा जानकारी लिए ।
प्रत्येक महिना दलित बस्ती अवलोकन गरी त्यहाँको विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनलगायत समस्याबारे स्थानीयसँग छलफल गर्ने कार्यतालिकाअनुसार मुख्यमन्त्री सिंह वैदेही स्कुल टोलको मुसहर बस्ती पुगेका हुन्।
मुख्यमन्त्री सिंहले सङ्घीयताका कारण स्थानीय तहमा दलित महिलाको प्रतिनिधित्व सम्भव भएको उल्लेख गर्दै वर्तमान व्यवस्थालाई संस्थागत गर्ने जिम्मेवारी सबै समुदायको भएको बताए ।
उनले मुसहर बस्तीका बच्चाको शिक्षामा पहुँच सुनिश्चित गर्न राज्य र समुदाय दुवै स्तरबाट पहल गर्ने बताए। उनले छोरा र छोरी दुवैको शिक्षामा ध्यान दिन आग्रह समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्: