भरतपुर । तनहुँ बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको छ ।
भारतबाट भरतपुर आएकाे भारतीय सेनाकाे विमान शनिबार २५ शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो । अन्य दुई जनाको शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
प्रजिअ यादवका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये २५ जना महाराष्ट्रकाे जलगाउँ जिल्लाका हुन् । बाँकी दुई जना मृतक बसका चालक, सहचालक गाेरखपुरका हुन् ।
शुक्रबार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइतेको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
भरतपुरमा भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि आएका थिए । उनीहरू पनि साेही विमानमार्फत फर्केका छन् ।



प्रतिक्रिया दिनुहोस्: