जनकपुरधाम । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमास्थित कमला नदीमा पुल बनाउन माग गर्दै एउटा समूह जनकपुरमा आमरण अनशनमा छन् ।
पुलको माग गर्दै सिरहाका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी र अगुवाहरू गत मंगलबारदेखि जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि अनशनरत छन् ।
जनकपुरमा जारी आमरण अनशनको समर्थनमा सिरहामा भने राजमार्गमा प्रदर्शन भइरहेको छ । स्थानीय युवाहरू सदरमुकाममा बुधबारदेखि नै प्रदर्शन गरिरहेका छन् ।
बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री सतीशकुमार सिंहको पुतला दहन गरेका प्रदर्शनकारीले आज विहानैदेखि विरोध प्रर्दशन गर्दै नाराबाजी गरिरहेका छन् ।
उनीहरूले यसलाई कमला पुलका लागि वारपारको संघर्ष भनेका छन् । ‘यो पुलका लागि विगतमा दर्जनौं आन्दोलन भए,’ स्थानीय सुनिल यादवले भने, ‘तर, राज्यको रबैयाले हामी यसपालि वारपारको लडाइँमा छौं ।’
पुल निर्माणको सुनिश्चितता नभएसम्म यसपालिको आन्दोलन नरोकिने संघर्ष समितिका संयोजक प्रवीण यादवको भनाइ छ । कमला नदीमा निर्माण भएको पुल गलत डिजाइन र कमसल कामका कारण सञ्चालनमा नआउँदै भासिएको भन्दै नयाँ पुल बनाउनुपर्ने उनीहरूको माग छ ।



प्रतिक्रिया दिनुहोस्: