काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेकोमा नेपालमा बढी पानी पर्ने सम्भावना रहेको छ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने धेरै स्थानमा मध्यम देखि भारी पानी परिरहेको छ । सबैभन्दा धेरै वर्षा मधेश प्रदेशको पर्सा जिल्लामा भएको छ । पर्साको रङ्गपुर टाँडीमा विगत ६ घण्टाको अवधिमा १४५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
यसैगरी बाराको सिमरा विमानस्थलमा १२९.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान पाँच बजे एक सूचना जारी गर्दै पर्साको रङ्गापुर टाँडी बजार, बाराको सिमरा, परवानीपुर, कलैया, अमलेखगञ्ज र आसपास भारी वर्षा भएको जनाएको छ ।
वर्षा थप हुन सक्ने भएकाले सो क्षेत्र भई बहने दुधौरा, पसाहा लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने सम्भावना छ । त्यसैले ती क्षेत्रका तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा आज बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
राती देखि परेको भारी वर्षाले कैलालीको धनगढी विमानस्थलमा पनि धेरै वर्षा भएको देखिन्छ । त्यहाँ ९७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । तीन घण्टादेखि कञ्चनपुरको दोधारा केन्द्रमा पनि भारी वर्षा भएको देखिन्छ । दोधारा मौसम केन्द्रमा तीन घण्टाको अवधिमा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
नुवाकोटको ककनी, कैलालीको टीकापुर लगायत स्थानमा पनि भारी वर्षा रेकर्ड भएको छ । मंगलबार राति कैलालीको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको थियो । सो क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्: