काठमाडौं । आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन प्रधानमन्त्री केपी ओलीले मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।
मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै सरकारले १०० दिनभित्र गर्ने मुख्य कामबारे बिहीबार प्रधानमन्त्री कार्यालयमा भएको प्रस्तुतिपछि उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामको व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिएका हुन् ।
हामी जागिर खाइरहेका छैनौं, हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौं’, उनले भने, ‘भावी सन्ततिका लागि काम गरिरहेका छौं । यो सेवा हाम्रो तलबसँग तुलना हुन सक्दैन ।’
प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन गर्न र व्यावसायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन निर्देशन दिए । उनले खरिद गरिएका यन्त्र उपकरण र स्रोत साधनको पूर्ण उपयोग गर्न पनि आग्रह गरे ।
लक्ष्य निर्धारण गर्दा वस्तुगत हुनुपर्ने भन्दै उनले पूरा गर्न कठिन हुने लक्ष्य नै नराख्न निर्देशन दिए । ‘अबका तीन महिनामा इतिहासका अरु कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौं, धेरै काम गर्दा समस्या आउँला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔं’, प्रधानमन्त्री ओलीले भने,‘गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन ।’
बजेट कम भए पनि सुशासन कायम गर्दै फटाफट काम गरेमा शत प्रतिशत विकास खर्च गरेर अर्थतन्त्र चलायमान बनाउन सकिने प्रधानमन्त्री ओलीले बताए ।



प्रतिक्रिया दिनुहोस्: