मधेसका दीर्घकालीन योजनाहरूमा सहयोग गर्न स्विट्जरल्याण्ड तयार

२०८१ साउन ३१

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग नेपालस्थित स्विट्जरल्यान्ड दूतावासका अधिकारीहरूले भेटघाट गरेका छन् ।

स्विस दूतावासका डेपुटी चिफ अफ मिसन म्याथियास मेयरको नेतृत्वको ५ सदस्यीय टोलीले बिहिबार मुख्यमन्त्री सिंहसँग भेटघाट गरेका छन् ।

टोलीले मधेश सरकारको दीर्घकालीन महत्वका योजनाहरूमा सहयोग पु-याउने उद्देश्यले भेटघाट गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले प्रदेशमा सिचाइ सहित बहुआयामिक परियोजना विकास तथा विस्तारका लागि नदी जोड्ने, नहर निर्माण योजना कार्यान्वयन, मधेस विश्वविद्यालयमा संघीयताको विषयमा बेग्लै कोर्स राख्ने जस्ता विषयहरूमा सहयोग गर्न दूतावासका अधिकारीसँग माग गरेका थिए ।

मुख्यमन्त्री सिंहले प्रदेशमा कृषि क्षेत्रमा पनि फड्को मार्न सकिने भएकोले आँप र केरालगायत खेतीको प्रवद्र्धन तथा उत्पादनका लागि आधुनिक प्रविधिहरूतर्फ सहयोग पु-याउन  आग्रह गरेका थिए ।

मुख्यमन्त्री सिंहले संघीय राज्य विकास, रोजगारी र आय प्रवर्द्धनसँगै नेपाली आप्रवासी कामदारको सुरक्षामा योगदान पु-याउन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, प्रकोप जोखिम न्यूनीकरणका क्षेत्रमा विशेष समन्वयको खाँचो रहेको जिकिर गरेका थिए ।

भेटघाटमा विकास तथा सहयोगका लागि स्विस दूतावासले मधेसमा सञ्चालित कार्यक्रमहरुसँगै प्रदेश सरकारको थप योजनाहरूमा पनि काम गर्न सकारात्मक रहेको जनाइएको छ ।

डेपुटी चिफ मेयरले नियोगका कार्यक्रमलाई तुलनात्मक रूपमा थप सुदृढ र प्रभावकारी बनाइनेमा प्रष्ट्याए ।

प्रदेश सरकारको सूचना प्रविधि क्षेत्रको विकासका लागि बहुराष्ट्रिय कम्पनीसँग जोड्न काम गर्न एसडिसीले सहयोग तयार रहेको उनको प्रतिबद्धता थियो ।

टोलीले प्रदेश सरकारको दीर्घकालीन महत्वका योजनाहरूमा सहयोग पु-याउने उद्देश्यले भेटघाट गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: