भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् भने १३१ जना घाइतेको छन् घाइतेहरुको उपचार जारी छ ।
केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान २-३ बजेतिर यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए ।
अधिकारीहरुका अनुसार वायनाडका गाउँ बाढीपहिरोबाट तहसनहस भएका छन् । मुण्डाक्कई क्षेत्रलाई आसपासका अरु क्षेत्रसँग जोड्ने एकमात्र पुल भत्किएपछि उद्धार कार्यमा समस्या परेको छ । सो क्षेत्रमा अस्थायी पुल निर्माणका लागि सहयोग गर्न मुख्यमन्त्रीले पिनरई विजयनले आह्वान गरेका छन् ।
पहिरोमा केही नेपाली पनि परेको आशंका गरिए पनि त्यसको पुष्टि हुन भने सकेको छैन ।
वायानाड क्षेत्रका होटल, कृषि तथा पशु फार्ममा काम गर्ने नेपालीको संख्या उल्लेख्य छ । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख डा.सुरेन्द्र थापाले केरलको पहिरोमा नेपाली परेको बारे जानकारी नआएको र यसबारे थप बुझ्ने प्रयास भइरहेको बताए ।
प्रदेश सरकारका मुख्य सचिव डा. बी वेणुले पहिरोले कतिपय क्षेत्रसँगको सम्पर्क टुटेकोले उद्धार टोली पुर्याउनसमेत कठिनाइ भइरहेको हुँदा क्षतिको आँकलन गर्न नसकिएको बताएका छन् ।
बीबीसीका अनुसार मंगलबार बिहान २ देखि ३ बजेको समयमा वायनाडका तीन ठाउँमा पहिरो गएको छ। निरन्तरको वर्षा र पहिरोले उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ । खराब मौसमले हेलिकोप्टरबाट उद्धारमा समेत कठिनाइ भइरहेको छ ।
केरलका मुख्यमन्त्री पिन राई विजयनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेशमा दुई दिनको राजकीय शोकको घोषणा गरेका छन् ।प्रदेशका मुख्य सचिव बी वेणुले दुई दिन औपचारिक सभा समारोह नगरिनुका साथै प्रदेशमा राष्ट्रिय झन्डा आधा झुकाइने जनाएका छन् ।
राष्ट्रपति, प्रधानमन्त्री तथा विपक्षी दलका नेताहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई २ लाख तथा घाइतेलाई ५० हजार सहयोगको घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्: