वाग्मती, लुम्बिनी र कर्णालीमा फेरिए प्रदेश प्रमुख

२०८१ साउन १४

काठमाडौँ —सरकारले वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख हेरफेर गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वाग्मतीमा दिपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

देवकोटा एमालेका नेता हुन् भने घर्ती र जोशी कांग्रेसका पुराना नेता हुन् । जोशी यसअघि पार्टीको केन्द्रीय सदस्य थिए भने घर्ती रोल्पाका पूर्व जिल्ला सभापति हुन् ।

यसअघि वाग्मतीको प्रमुखमा यादव शर्मा, लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र कर्णाली प्रदेश प्रमुखमा तिलक परियार थिए । शर्मा एकीकृत समाजवादीका हुन् भने शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् ।

 

प्रतिक्रिया दिनुहोस्: