तीन दिनसम्म भारी वर्षाको सम्भावना, ४३ जिल्ला उच्च जोखिममा

२०८१ असार २७

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो ।

हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सिमाना आसपास छ । मनसुन  नेपालतर्फ सर्ने सम्भावना छ । आज बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको महाशाखाका मौसमविद गोविन्द झाँले बताएका हुन्।

यी प्रणालीको प्रभावले  असार २६ गते रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको मौसमविद झाले जानकारी दिए ।

सोही विश्लेषणको आधारमा महाशाखाले नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको महाशाखाले जनाएको छ।

महाशाखाले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुर, मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी तथा बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा उच्च जोखिमको सूचीमा परेका छन् ।

गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ र गोर्खा जिल्लालाई पनि महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ ।  त्जोयसैगरी उच्च जोखिमको सूचीमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम र दाङ पनि परेका छन् ।

मध्यम जोखिममा कोशी प्रदेशको ओखलढुंगा, बागमतीको रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र नुवाकोट जिल्ला  मध्यम जोखिममा छन् ।

गण्डकीका मनाङ र मुस्ताङ तथा लुम्बिनीका बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा, प्युठान र अर्घाखाँची तथा कर्णालीका दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिम र जाजरकोट जिल्ला मध्यम जोखिमको सूचीमा छन् ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम र बैतडी जिल्लालाई पनि मौसम पूर्वानुमान महाशाखाले मध्यम जोखिमको सूचीमा राखेको छ ।

न्यून जोखिममा कर्णालीका डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङ जिल्ला छन् ।

यस वर्ष मनसुन अवधिमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण भएकाले बाढी पहिरो र डुबानको समस्या बढ्ने सम्भावना छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने आकलन गरेको छ ।

यस वर्ष मनसुन भित्रिएदेखि हालसम्मको अवधिमा देशभर ८१ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्: