बाढीका कारण नागार्जुनमा एकजनाको मृत्यु ,भक्तपुरमा १८ टहरा र बागमती करिडोरका सडक डुबानमा

२०८१ असार २२

काठमाडौं । हिजो राति देखि परेको अविरल वर्षापछि गएको पहिरोका कारण काठमाडौंको नागार्जुन नगरपालिका-३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको छ ।

शनिबार विहान सवा ११ बजे स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका-६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका हुन्।

उनका अनुसार किचन हेल्परका रुपमा काम गर्ने बिक पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

शुक्रबार रातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाको नदी तथा खोलाहरुमा जल सतह बढेको छ ।

वाग्मती, विष्णुमती, धोबिखोला, मनोहरा खोला, हनुमन्ते खोलामा जलसतहक बढ्दा किनारमा रहेका टहराहरु डुबानमा परेका छन् । उपत्यकाभरि हालसम्म कति घरटहरा डुबानमा परे भन्ने यकिन विवरण छैन ।

भक्तपुरमा मध्यपुर थिमी नगरपालिकास्थित दिव्येश्वरी प्लानिङनजिक मनोहरा खोलाले १८ वटा टहरा डुबानमा परेको छ । ती टहरामा बस्ने ५६ जनालाई सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरीले जनाएको छ।

वाग्मतीमा आएको बाढीका कारण बागमती नदी करिडोर सडकहरुसमेत जलमग्न भएको छ । ललितपुरको युएन पार्क क्षेत्रको करिडोर सडकसमेत बाढीले डुबाएको छ ।

प्रतिक्रिया दिनुहोस्: