काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिलाई सक्रात्मक भनेको छ ।
दुई दलबीचको सहमतिपछि बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न मंगलबार राप्रपाले पदाधिकारी बैठक बोलाएको थियो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य भएको बताए ।
लामो समयदेखि यो संविधानले काम गर्न सक्दैन र संशोधन गर्नुपर्छ भनि राप्रपाले भन्दै आएको बताउँदै लिङ्देनले भने, यहीबेलामा नेपाली कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार आइरहेको छ । त्यो सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन रहेको छ, संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रुपमा स्वागतयोग्य हो ।
दुई दलबीचको समझदारी कसरी अगाडि बढ्छ र संविधान संशोधनको प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषय प्रतीक्षामा रहेको लिङ्देनले बताए । दुई दलबीचको सहमतिले ठोस आकार ग्रहण गरेपछि मात्र आफूहरुले यस विषयमा अवधारणा बनाउने उनको भनाइ छ ।
बाहिर सतहमा आएका विषय साँच्चिनै सहमतिका विषय हो कि होइन , कांग्रेस एमाले सहमत छ कि छैन त्यो देखिसकेपछि मात्र हामीले अवधारणा बनाउँछौं , लिङदेनले भने ।
लिङ्देनले दुई ठूला पार्टीहरुबीचको सहमतिले राजनीतिक स्थायीत्व दिने आशा भने आफूहरुमा नरहेको पनि बताए । ‘यो सहकार्य ३ वर्षसम्म जान्छ भन्ने आम मानिसलाई लाग्न सक्छ, तर यो ६ महिनापछि परिवर्तन हुन पनि सक्छ’, उनले भने ।



प्रतिक्रिया दिनुहोस्: